‘बा-एक योद्धा’ मौन समर्पण, भताभुङ्ग सपना र समकालीन समाजको ऐना

बा-एक योद्धा' सन्तानका लागि बाबुको मौन त्याग र आजको स्वार्थी समाजको कथा हो। यस मार्मिक पारिवारिक चलचित्रको पूर्ण समीक्षा यहाँ पढ्नुहोस्।

बा-एक योद्धा

​नेपाली चलचित्र वृत्तमा समय-समयमा यस्ता केही सिर्जनाहरू बन्छन्, जसले केवल मनोरञ्जन मात्र दिँदैनन्, बरु दर्शकको मर्ममा प्रहार गर्दै आँसु र आत्मसमीक्षाका छालहरू ल्याइदिन्छन्। ‘बा-एक योद्धा’ त्यस्तै एउटा असाधारण र विशिष्ठ चलचित्र हो। यो केवल एउटा सिनेमा मात्र होइन, हरेक जिम्मेवार बाबुले आफ्ना सन्तानको खुसी र भविष्यका लागि गर्ने अवर्णनीय त्याग, तपस्या र अन्त्यहीन बलिदानीको एउटा जीवन्त दस्तावेज हो।

​हाम्रो समाजमा आमाको महिमा र ममताको वर्णन प्रशस्तै हुन्छ, जुन स्वभाविक पनि हो। आमा आमा नै हुन्, तर बा पनि बा नै हुन्। बाको माया अक्सर कठोर अनुशासन र मौनताको गुफाभित्र लुकेको हुन्छ। चलचित्रले यही पक्षलाई उजागर गर्दै भन्छ; कति कुरा बाले भन्न सक्छन्, भन्न मिल्छ, तर कति यस्ता भावना र पीडाहरू हुन्छन् जसलाई एउटा बाले चाहेर पनि ओठसम्म ल्याउन सक्दैनन् र समाजको संरचनाले भन्न मिल्दैन पनि। सन्तानको खुसीको लागि आफ्ना रहरहरू मारेर हिँड्नुपर्ने बाको जिम्मेवारी र त्यसले थप्ने मानसिक बोझ साँच्चै बा भएर बाँच्ने र त्यो जुत्तामा खुट्टा हाल्नेलाई मात्र थाहा हुन्छ। यो नभनिएको र नदेखिएको बाको संवेदनालाई चलचित्रले अत्यन्तै मर्मस्पर्शी ढङ्गले पर्दामा उतारेको छ।

​विशेष प्रशंसाको हकदार हरि लम्साल हुन्, जसले यसै चलचित्रमार्फत कथा लेखन र निर्देशनमा आफ्नो पहिलो पाइला चालेका छन्। पहिलो प्रयासमै उनले एउटा बाभित्रको त्यो अति गम्भीर, जटिल र संवेदनशील मनोविज्ञानलाई यति परिपक्व र सशक्त रूपमा प्रस्तुत गरेका छन् कि, क्रिकेटको भाषामा भन्नुपर्दा, उनले निर्देशनको 'पहिलो बलमै सानदार छक्का' प्रहार गर्न सफल भएका छन्। विषयवस्तुको गहिराइ र प्रस्तुतिको हिसाबले यो चलचित्रलाई एउटा उत्कृष्ट आर्ट मुभी, जीवनको अर्थ खोज्ने दार्शनिक मुभी, समाजको ऐना देखाउने सामाजिक मुभी र हरेक घरको कथा बोल्ने पारिवारिक मुभीको रूपमा निसङ्कोच नामकरण गर्न सकिन्छ।

​चलचित्रको अर्को सबैभन्दा बलियो पक्ष भनेको यसले उठाएको समकालीन समाजको क्रूर सत्य हो। हिजोआज धेरै सन्तानहरू आफ्ना जन्मदाताप्रति कतिसम्म निर्दयी र स्वार्थी बन्दै गइरहेका छन् भन्ने यथार्थले दर्शकको मन चिमोट्छ। अझ विडम्बनाको कुरा त के छ भने, छोरीहरूको तुलनामा छोराहरू आफ्ना बा-आमाप्रति अझ बढी गैरजिम्मेवार र कठोर बन्दै गएका छन्। अहिलेको बढ्दो 'विदेश मोह'ले हाम्रो परम्परागत परिवार, आत्मीय सम्बन्ध, माया, र वर्षौंदेखि हुर्किएको इमोसन कसरी पूर्ण रूपमा भताभुङ्ग र खोक्रो भइरहेको छ भन्ने कुरालाई चलचित्रले निर्मम ढङ्गले चिरेर देखाएको छ।

​हुन त, पारिवारिक संवेदना, विदेश पलायन र सन्तानको बेवास्ता जस्ता कथावस्तुमा यसअघि पनि नेपाली सिनेमा नबनेका होइनन्। तर, निर्देशक हरि लम्साल, निर्माता वसन्त लम्साल र उहाँहरूको सम्पूर्ण टोलीले यो सिनेमामा जसरी सरल तर अत्यन्तै कठोर रूपमा आजको वास्तविकतालाई पर्दामा उतार्न सफलता प्राप्त गरेका छन्, त्यो आफैंमा अद्वितीय छ। परिवारभित्रका हाम्रा सम्बन्ध र संवेदना, त्यसमा पनि एउटा कपूत (सबै सन्तान त्यस्ता हुँदैनन्, तर जो हुन्छन्) छोराका कारण एउटा जिम्मेवार र इमानदार बाको सोंच, उसले सजाएको संसार र जीवनभरको योजना कसरी क्षणभरमै क्षतविक्षत हुन्छ भन्ने कुरा सायद योभन्दा सशक्त र यथार्थपरक ढङ्गले देखाउने ठाउँ सिनेमामा अब बाँकी रहँदैन होला।

​अन्तमा, यति गहन विषयवस्तुलाई यति सुन्दर ढंगले पस्किएकोमा यस चलचित्रको निर्माण पक्ष विशेष बधाईको पात्र छ। सुमधुर संगीत पस्कने संगीतकार, गायक तथा यो सिनेमाका निर्माता वसन्त लम्साल, पर्दामा आफ्नो जीवन्त अभिनयले प्राण भर्ने सम्पूर्ण कलाकारहरू, र निर्देशनमा जादु गर्ने हरि लम्साललाई यस्तो अब्बल चलचित्र बनाइदिनु भएकोमा हृदयदेखि नै धन्यवाद ।

​‘बा-एक योद्धा’ हेरेपछि जो कोहीले पनि आफ्ना बा-आमालाई सम्झिनेछन्। यो वर्तमान भड्किरहेको पुस्ताले एकपटक हेर्नैपर्ने, बुझ्नैपर्ने र मनन गर्नैपर्ने उत्कृष्ट चलचित्र बनेको छ।