स्थानीय सरकारको सहकार्यमा असोज ८ र ९ गते विद्यालय बिदा दिन शिक्षा मन्त्रालयको निर्देशन

विपद् जोखिम न्यूनीकरणका लागि शिक्षा मन्त्रालयको पूर्वतयारी: विद्यार्थीको सुरक्षालाई प्राथमिकता दिँदै दुई दिन विद्यालय बन्द गर्न र परीक्षाहरू रोक्न...

काठमाडौँ , भाद्र ६

आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा तथा प्रतिकूल मौसमको सम्भावनालाई मध्यनजर गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। जल तथा मौसम विज्ञान विभाग एवम् राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानका आधारमा मन्त्रालयले बुधबार सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई परिपत्र गर्दै आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो।

मौसम पूर्वानुमान अनुसार असोज ९ देखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र हावाहुरी तथा चट्याङ पर्ने सम्भावना रहेको छ। यसबाट बाढी, पहिरो, डुबान, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम रहेकाले त्रासभन्दा पनि पूर्वतयारी र सावधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईद्वारा हस्ताक्षरित परिपत्र अनुसार सरोकारवालाहरूका लागि देहायबमोजिमका निर्देशनहरू जारी गरिएका छन्:

  • विद्यालय बिदा सम्बन्धी: विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै स्थानीय तहहरूसँग समन्वय गरी असोज ८ र ९ गते आवश्यकतानुसार विद्यालय बिदा दिन निर्देशन दिइएको छ।
  • परीक्षा स्थगित गर्ने विषयमा: सबै विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायहरूले असोज ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने पूर्वनिर्धारित परीक्षाहरू आवश्यकतानुसार स्थगित गर्न आग्रह गरिएको छ।
  • अस्थायी आश्रयस्थल: विपद्को समयमा सुरक्षित रहेका विद्यालय भवनहरूलाई अस्थायी आश्रयस्थलको रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्न भनिएको छ।
  • अभिभावकहरूलाई सचेतना: बालबालिकाहरूलाई नदी, खोला, पोखरी तथा पहिरोको उच्च जोखिम रहेका क्षेत्रहरूमा जान नदिन सम्पूर्ण अभिभावकहरूलाई विशेष सावधानी अपनाउन अपिल गरिएको छ।