शैक्षिक माफियाविरुद्ध रुद्र पाण्डेको गर्जन
आधिकारिक समाचार, सूचना, जानकारि र ज्ञान।
निजी विद्यालयको श्रमशोषण र गुणस्तरहीन विदेशी सम्बन्धनको भण्डाफोर
नेपालको सूचना प्रविधि (आईटी) र शिक्षा क्षेत्रमा अत्यन्तै रुचाइएका र परिचित नाम हुन्– रुद्र पाण्डे। प्रविधि उद्यममार्फत नेपाललाई विश्वस्तरमा चिनाउन सफल पाण्डे पछिल्लो समय विद्यालय तहदेखि विश्वविद्यालयसम्म जरा गाडेर बसेको शैक्षिक विकृतिको भण्डाफोर गर्दै आक्रामक रूपमा उत्रिएका छन्। 'हाम्रो पात्रो'का अध्यक्ष, 'डियरवाक' (Deerwalk) शिक्षा समूहका सञ्चालक तथा डियरवाक स्कुलका संस्थापक पाण्डेले सामाजिक सञ्जाललाई मुख्य हतियार बनाउँदै नेपालको शिक्षा प्रणालीमा भइरहेको नाफाखोरी व्यापार र श्रमशोषणविरुद्ध कडा अभियान छेडेका छन्।
पाण्डेले काम नलाग्ने विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित र गुणस्तरहीन शिक्षा दिइरहेका संस्थाहरूप्रति आक्रामक विरोध गरिरहेका छन्। विश्वस्तरको कुनै र्याङ्किङमा नभएका विदेशी विश्वविद्यालयको 'अन्तर्राष्ट्रिय डिग्री'को भ्रम छरेर चर्को शुल्क लिने, तर गुणस्तरहीन शिक्षा दिएर विद्यार्थीको भविष्य र अभिभावकको पसिनामाथि खेलबाड गरिरहेको उनको दाबी छ। लाखौँ तिरेर गुणस्तरहीन विदेशी सम्बन्धनका कलेजमा पढ्नुभन्दा नेपालकै सरकारी तथा मान्यताप्राप्त विश्वविद्यालयहरूमा पढ्नु वा सिधै राम्रो विदेशी विश्वविद्यालयमा जानु उत्तम हुने उनको तर्क छ।
निजी विद्यालयमा हुने श्रमशोषण
अहिले पाण्डे निजी विद्यालयले गर्ने शिक्षकमाथिको श्रमशोषणका बारेमा सामाजिक सञ्जालमा निरन्तर बोलिरहेका छन्। शिक्षकलाई कानुनअनुसारको पारिश्रमिक नदिने निजी विद्यालयका नाम र प्रमाणसहित उनले आफ्नो फेसबुकमा पोस्ट गरिरहेका छन्।
आफ्नो फेसबुक वालमा 'देशभरका शिक्षकहरूको रोदन र पीडा' शीर्षकमा लामो स्ट्याटस लेख्दै पाण्डेले २४ घण्टाभित्रै देशभरबाट १ हजारभन्दा बढी पीडित शिक्षक–शिक्षिकाहरूको 'डाइरेक्ट म्यासेज' आएको खुलाएका छन्। आवाजविहीनका आवाज बनेका रुद्रलाई दैनिक सयौँ त्यस्ता म्यासेज आइरहेको उनले बताएका छन्।
शिक्षकहरूका यी दर्दनाक सन्देश पढेर आफ्नो 'मुटु छियाछिया भएको' बताउँदै उनले नेपालका निजी (र केही सरकारी विद्यालयका करार/पार्ट–टाइम) विद्यालयहरूले गरिरहेको शोषणका १० वटा डरलाग्दा रूप सार्वजनिक गरेका छन्:
- बोनसमा ठगी: दसैँको बोनस शून्य वा अति न्यून दिने, पूरा तलब बराबरको एक महिनाको बोनस नदिने।
- धरौटी र प्रमाणपत्र कब्जा: २–३ महिनाको तलब धरौटीका रूपमा राख्ने, जागिर छाड्दा उक्त रकम नदिने र कतिपयले शिक्षकको सक्कल प्रमाणपत्र नै कब्जा गर्ने।
- श्रमको अवमूल्यन: कक्षा ११ र १२ (प्लस टु) पढाउने शिक्षकलाई २०–२२ हजार रुपैयाँ मात्रै दिएर पूर्णकालीन (फुल–टाइम) काम लगाउने तर सुविधा भने आंशिक (पार्ट–टाइम) मात्र दिने।
- दुर्व्यवहार: विद्यालय सञ्चालक र प्रिन्सिपलबाट शिक्षकहरूलाई गालीगलौज र बेइज्जती गर्ने।
- अधुरो तलब: वर्षमा १२ महिनाको सट्टा ९ महिनाको मात्रै तलब दिने।
- बिदा कटौती: बिरामी बिदा (Sick leave) समेत नदिने।
- कागजी नाटक (नगद फिर्ता): कागजात वा बैंक खातामा सरकारी न्यूनतम स्केलअनुसार तलब देखाउने, तर पछि आधा रकम सञ्चालकले नगदमै फिर्ता लिने।
- नियुक्तिपत्रविना काम: नियुक्तिपत्र नै नदिई काममा लगाउने, जसले गर्दा शिक्षकसँग विद्यालयविरुद्ध कानुनी कदम चाल्ने कुनै प्रमाण हुँदैन।
- खाली राजीनामापत्रमा हस्ताक्षर: सुरुमै मिति खाली राखेर राजीनामापत्रमा दस्तखत गराएर मात्र काममा राख्ने।
- न्यूनतम पारिश्रमिक: धेरैजसो शिक्षकलाई मासिक १० देखि १५ हजार रुपैयाँको अत्यन्तै न्यून तलबमा काम लगाउने।
यी वेदना सार्वजनिक गर्दै पाण्डेले लेखेका छन्, "यसबाट प्रस्ट भयो, नेपालका युवा किन शिक्षण पेसाबाट भागेका हुन् भनेर।"
शैक्षिक संस्था गैरनाफामूलक बनाउन सरकारलाई चुनौती
यति मात्र नभई सम्पूर्ण शैक्षिक संस्था गैरनाफामूलक (Non-profit) बनाउन उनले सरकारलाई बारम्बार चुनौतीसहित अनुरोध पनि गरिरहेका छन्। शिक्षा र स्वास्थ्यजस्ता नागरिकका आधारभूत अधिकारका क्षेत्रमा राज्यको बलियो नियमन हुनुपर्ने र चरम व्यापारीकरणको अन्त्य हुनुपर्ने उनको स्पष्ट अडान छ।
'डियरवाक'मार्फत प्रस्तुत उदाहरण र कानुनी ठोकुवा
नेपालमा 'डियरवाक एजुकेसन' नामबाट शैक्षिक संस्था सञ्चालन गरिरहेका उनले उक्त संस्थामा सम्पूर्ण कुरा कानुनसम्मत भएको ठोकुवा गरेका छन्। पाण्डेको नेतृत्वमा काठमाडौंको सिफल, धादिङ, पोखरा र भरतपुरमा विद्यालयहरू सञ्चालित छन् भने काठमाडौंमा 'डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी' (DWIT) सञ्चालनमा छ। डियरवाकमा कार्यरत सबै शिक्षक तथा कर्मचारीलाई कानुनबमोजिमको पारिश्रमिक र सेवासुविधा दिएको दाबी गर्दै उनले आफूले जे बोल्छन्, त्यो व्यवहारमा लागू गरेर देखाएको सन्देश प्रवाह गरेका छन्।
धादिङदेखि अमेरिकासम्मः को हुन् रुद्र पाण्डे?
सन् १९६३ मा धादिङको नौबिसेमा जन्मिएका रुद्र पाण्डे नेपाली मूलका सफल अमेरिकी प्रविधि उद्यमी, प्रशासक र शिक्षाविद् हुन्। पाकिस्तानको मेहरान विश्वविद्यालयबाट इलेक्ट्रोनिक्स इन्जिनियरिङमा सर्वोत्कृष्ट अङ्क ल्याई (टप गर्दै) स्नातक पूरा गरेका उनले अमेरिकाको बोस्टनस्थित नर्थइस्टर्न विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि (Ph.D.) गरेका छन्।
नेपालको आईटी आउटसोर्सिङ उद्योगलाई विश्वस्तरमा चिनाउन उनले ऐतिहासिक भूमिका खेलेका छन्। सन् २००१ मा उनले स्थापना गरेको हेल्थकेयर डेटा एनालिटिक्स कम्पनी 'D2Hawkeye' र सन् २०१० मा स्थापित 'Deerwalk Inc.' लाई अमेरिकी कम्पनीहरूले सफलतापूर्वक अधिग्रहण गरिसकेका छन्। हाल उनी अमेरिकामा आधारित ग्लोबल सफ्टवेयर विकास कम्पनी 'डियरहोल्ड' (Deerhold Ltd) का संस्थापक तथा कार्यकारी अध्यक्ष र नेपालको लोकप्रिय डिजिटल प्लेटफर्म 'हाम्रो पात्रो'का अध्यक्ष तथा मुख्य लगानीकर्ता रहेका छन्। व्यावसायिक सफलताको शिखरमा पुगेर पनि नेपाली समाजका तल्लो तहका समस्यासँग जोडिन रुचाउने पाण्डे अहिले टिकटक र फेसबुकजस्ता माध्यमबाट नेपालको शिक्षा र व्यवस्था सुधारका लागि निरन्तर आवाज उठाइरहेका छन्।