कबड्डी ५' टिजर रिभ्यु: पुरानो बोत्तलमा पुरानै रक्सी तर नयाँ फ्लेभर
कबड्डी ५ टिजर रिभ्यु: के काजीले बिहे गर्लान्? बिपिन कर्कीको इन्ट्री, नयाँ जोडी र क्रिकेटको ट्विस्टसहितको रोचक रहस्य। चलचित्र कार्तिक ६ गते आउँदैछ!
नेपाली दर्शकलाई हँसाउँदै र काजीको बिहेको चिन्तामा डुबाउँदै आएको 'कबड्डी' सिरिजको नयाँ संस्करण 'कबड्डी ५' को टिजर सार्वजनिक भएको छ। टिजरले दर्शकमा उत्साह र धेरै प्रश्नहरू एकैसाथ छोडेको छ।
काजीको नयाँ जोडी र मिरुना मगर खोइ?
टिजरको सुरुमै काजीलाई एक नयाँ महिला पात्रसँग गाउँमा हिँडिरहेको देखाइएको छ। यो नयाँ जोडी देखेर दर्शकको मनमा अघिल्लो चलचित्रकी नायिका मिरुना मगर (शान्ति) खोइ भन्ने ठूलो प्रश्न उब्जाएको छ। के काजीले शान्तिलाई भुलेर नयाँ जीवन सुरु गर्न लागेका हुन् त? यसले कथामा सुरुमै एउटा ठूलो सस्पेन्स सिर्जना गरेको छ।
पुरानो बोत्तलमा पुरानै रक्सी तर नयाँ फ्लेभर
टिजर हेर्दा महसुस हुन्छ, 'कबड्डी' को मूल मर्म, मुस्ताङको सुन्दर दृश्य र पात्रहरूको शैली उही पुरानै छ। तर, यसपटक दर्शकलाई पक्कै पनि केही नयाँ फ्लेभर चखाउने प्रयास गरिएको छ।
बिपिन कर्कीको प्रवेश र क्रिकेटको रहस्य
टिजरमा अर्को ध्यानाकर्षण गराउने कुरा भनेको बिपिन कर्कीको प्रवेश हो। अझ रोचक कुरा त के भने, चलचित्रको नाम 'कबड्डी' भएपनि टिजरमा काजी क्रिकेट खेलिरहेको दृश्य देखाइएको छ। यसले दर्शकमा ठूलो प्रश्न खडा गरेको छ— के कबड्डीबाट क्रिकेटमा पुग्यो त गेम? यो नयाँ खेलले कथामा कस्तो मोड ल्याउने हो, त्यो हेर्न निकै रोचक हुनेछ।
पुरानी मैयाँको पुनरागमन र काजीको बिहेको अन्योल
टिजरको अन्त्यमा पुरानी मैयाँ (रिस्मा गुरुङ) को पुनरागमन देखाइएको छ। यसले कथामा अर्को झट्का थपेको छ। के काजीको बिहे भइकन डिभोर्स भयो, कि बिहे नै नभई फेरि नयाँ कथा सुरु भयो? टिजर हेरेर कथावस्तुको अनुमान लगाउँदा काजी अझै 'बुढोकन्यो' नै रहेको भान हुन्छ।
विगतका सबै सिरिजहरूमा कलाकार उही र विषयवस्तु पनि काजीको बिहेमै अल्झिएका थिए। यसपटक पनि उस्तै त होइन? टिजरमा देखाइएको "a new chapter begins" (एउटा नयाँ अध्याय सुरु हुन्छ) र "After the final match" (अन्तिम खेल पछि) जस्ता कुराहरूले कथाले पक्कै नयाँ बाटो लिएको संकेत गर्छ।
समग्रमा, 'कबड्डी ५' को टिजरले दर्शकलाई कौतुहलमा राख्न सफल भएको छ। सुरुमै देखिएको नयाँ जोडी, पुराना पात्रहरूको साथमा नयाँ कलाकारको प्रवेश र नयाँ खेलको ट्विस्टले चलचित्र प्रति अपेक्षा बढाएको छ। तर यी सबै कुरा र काजीको बिहेको रहस्य थाहा पाउन भने कार्तिक ९ गतेसम्म चलचित्र हेर्नैपर्ने हुन्छ।
