म्याग्दीको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाद्वारा परीक्षण उत्पादन सुरु

प्राकृतिक विपद् र ठेकेदार परिवर्तन जस्ता चुनौतीहरू पार गर्दै निर्माण सम्पन्न भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाले मङ्गलबारदेखि परीक्षण

म्याग्दीको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाद्वारा परीक्षण उत्पादन सुरु

असोज ६ - बेनी, म्याग्दी

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण सम्पन्न भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाले मङ्गलबारदेखि परीक्षण उत्पादन सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी 'रघुगङ्गा हाइड्रोपावर' प्रवर्द्धक रहेको यस आयोजनाको सम्पूर्ण भौतिक पूर्वाधार निर्माण र उपकरण जडानको काम सकिएसँगै परीक्षण उत्पादन थालिएको हो।

आयोजना प्रमुख राजबहादुर विष्टका अनुसार परीक्षणका लागि मङ्गलबारदेखि आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। "बाँध, डिसेण्डर, सुरुङ, स्विचयार्ड लगायत सम्पूर्ण भौतिक संरचना र विद्युत्‌गृहका उपकरणहरूको परीक्षण सफल भएपछि विद्युत् उत्पादन थालिएको हो," प्रमुख विष्टले भन्नुभयो, "२०/२० मेगावाट क्षमताका दुवै युनिटहरू चलाएर परीक्षणका लागि केन्द्रीय प्रणालीमा जोडिएको छ।"

सुरुवाती चरणमा वि.सं. २०६६ मा ठेक्का सम्झौता गरेको भारतीय ठेकेदार आईभिआरसिएलको कमजोर आर्थिक अवस्थाका कारण काम अघि बढ्न नसकेपछि २०७२ मा ठेक्का तोडिएको थियो। त्यसपश्चात् नयाँ प्रक्रियामार्फत भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) ले सिभिलतर्फ र भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले इलेक्ट्रोमेकानिकलतर्फको जिम्मा लिएर निर्माण कार्य अघि बढाएका थिए।

कोरोना महामारी, बाढीपहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा केही ढिलाइ हुन पुगेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिनुभयो। समय-समयमा म्याद थप गर्दै अन्ततः चौथो पटक थपिएको समयभित्र आयोजना निर्माण सम्पन्न भएको हो।

भारतीय आयात-निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा यो आयोजना इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारूपमा अगाडि बढाइएको थियो।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झिँको फेदीमा बाँध तथा तिल्केनीचौरमा विद्युत्‌गृह रहेको यस आयोजनामा ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ निर्माण गरिएको छ। आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी कोरिडोरअन्तर्गतको २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा जोडिएको छ। यस आयोजनाले वार्षिक करिब २४ करोड ५ लाख ९३ हजार युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।