रौतहटमा रास्वपा नेता भोला साहको घरबाट ५० लाख बढीको अवैध मोबाइल सामग्रीसहित तीन मोटरसाइकल बरामद
रौतहटको गौर नगरपालिका–४ स्थित रास्वपा नेता भोला साहको घरमा छापा मारेर सशस्त्र प्रहरीले ५० लाख बढी मूल्यका अवैध मोबाइलका पार्टपुर्जा तथा ३ थान मोटरसाइक
भाद्र -६, रौतहट।
रौतहटको गौर नगरपालिका–४ टिकुलियाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भण्डारण गरी राखिएको मोबाइलको स्पेयर पार्ट्स (पार्टपुर्जा) र तीन थान मोटरसाइकल बरामद गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता भोला साहको घरबाट करिब ५० लाख १४ हजार ५ सय रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट प्राप्त गोप्य सूचनाका आधारमा नं. ११ गण हेडक्वार्टर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) चेतराज जोशीको कमान्डमा खटिएको टोलीले साहको घरमा छापा मारेको थियो। ४५ जना सशस्त्र प्रहरी तथा गौर भन्सार कार्यालय रौतहटका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएका ती मोबाइल सामग्री फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका सम्पूर्ण सामानहरूको अनुमानित बजार मूल्य ५० लाख १४ हजार ५ सय रुपैयाँ रहेको छ। खानतलासीकै क्रममा ओसारपसारमा संलग्न रहेको आशंकामा तीन थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
बरामद गरिएका अवैध मोबाइल सामग्री तथा मोटरसाइकलहरूलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
