पितृसत्ताको फाइभ-स्टार रिसोर्ट र हराएको मेनु

स्वर्ग पुरुषले कल्पना गरेको ‘लक्जरी रिसोर्ट’ हो, जहाँ महिलाको स्वतन्त्र इच्छा छैन। मृत्युपछिको विभेदपूर्ण स्वर्ग होइन, समानता र न्यायसहित यही पृथ्वीला

स्वर्गको भिआइपी प्याकेज

अब स्वर्गको कन्सेप्टलाई अलिकति व्यङ्ग्यात्मक चस्माले हेरौँ। पृथ्वीमा रहुन्जेल ट्याक्स तिर, दुःख गर, ब्रत बस, दानपुण्य गर। यो सबै किन? ताकि मृत्युपछि स्वर्गको 'भिसा' लागोस्! त्यहाँ पुगेपछि न सुगर, न प्रेसर, न महँगीको टेन्सन। चारैतिर नन्दनवनको हरियाली, हातमा सोमरसको गिलाँस, अनि अगाडि अप्सराहरूको लाइभ डान्स!

यो वर्णन सुन्दा कहिलेकाहीँ कन्फ्युज भइन्छ— यो कुनै महान् आध्यात्मिक मुक्ति हो कि प्राचीन पुरुषहरूले कल्पना गरेको ‘अल-इन्क्लुसिभ लक्जरी रिसोर्ट’ हो? फरक यति मात्र हो, पृथ्वीका तारे होटलमा छिर्न क्रेडिट कार्ड स्वाइप गर्नुपर्छ, स्वर्गको ‘भिआइपी लन्ज’मा छिर्न जीवनभर जम्मा गरेको ‘पुण्यको रिवार्ड पोइन्ट’ रिडिम गर्नुपर्छ!

अब यहाँनेर एउटा रमाइलो तर गम्भीर प्रश्न आउँछ— यो स्वर्गको ‘प्याकेज’मा महिला ग्राहकका लागि के छ?

यदि पुण्य कमाएर स्वर्ग पुगेका पुरुषको स्वागतमा अप्सराहरू खटिएका हुन्छन् भने, त्यही लेभलको पुण्य कमाएर जाने महिलालाई चाहिँ कसले स्वागत गर्छ? के त्यहाँ ‘सिक्स-प्याक एब्स’ भएका गन्धर्वहरू चिसो जुसको ट्रे बोकेर उभिएका हुन्छन्? अहँ, स्वर्गको ब्रोसरमा त्यस्तो कतै लेखिएको छैन।

यसको सिधा अर्थ हो, स्वर्गको ‘स्क्रिप्ट’ कुनै यस्तो पुरुषले लेखेको हो जसलाई लाग्यो— महिला भनेका त पुरुषको इच्छा पूरा गर्ने ‘सर्भिस प्रोभाइडर’ मात्र हुन्। ती अप्सराहरूलाई कहिल्यै बिदा मिल्छ कि मिल्दैन? उनीहरूको आफ्नो ट्रेड युनियन छ कि छैन? उनीहरूको आफ्नै इच्छा, आकांक्षा र फ्रि-टाइम खै? यसको उत्तर नहुनुको कारण एउटै छ- स्वर्गको नक्सा पास गर्दा महिला इन्जिनियरलाई सोधिएकै थिएन।

अब यस्तो कुरा गर्दा कतिलाई लाग्ला, "लौ, यसले त पापको भारी बोक्ने भयो, नर्कमा यसको लागि छुट्टै तेलको कराही उम्लिँदै छ!" तर पख्नुस्, यो धर्ममाथिको आक्रमण होइन, सामाजिक कल्पनाको अडिट मात्र हो।

हामीले बनाएका कथा, मिथक र परलोकका चित्रहरूले हाम्रो समाजको सक्कली अनुहार देखाउँछन्। स्वर्गको कथामा पुरुषको भोगलाई ‘पुरस्कार’ र महिलालाई ‘उपहार’ बनाइनुले के देखाउँछ भने, प्रश्न स्वर्गमाथि होइन, त्यो कथा लेख्ने समाजको पितृसत्तात्मक सेटिङमाथि हो। प्रश्न गर्नु आस्थाको अपमान होइन, ‘कन्जुमर राइट्स’ (उपभोक्ता अधिकार) को खोजी हो!

पितृसत्ता कति बाठो छ भने, उसले पृथ्वीको जग्गा, सम्पत्ति, सत्ता र परिवारको निर्णयमा मात्र एकाधिकार जमाएन; मर्ने बेलामा आफ्नो हैकम र ‘लक्जरी माइन्डसेट’ लगेजमा प्याक गरेर परलोकसम्मै बोकेर गयो!

मृत्युले शरीरलाई त चितामै खरानी बनाउँछ भनिन्छ, तर हाम्रो समाजको असमानता र विभेदलाई भने आगोले पनि डढाउन सकेन। त्यो जस्ताको तस्तै स्वर्गसम्मै पार्सल भयो। स्वर्ग सबैका लागि हो भने सुखको परिभाषा एउटै हुनुपर्ने होइन र? तर त्यहाँ पनि पुरुषलाई ‘भिआइपी ट्रिटमेन्ट’ र महिलालाई ‘ब्याकग्राउन्ड डान्सर’ को भूमिका!

त्यसैले, मृत्युपछिको कुनै कपोलकल्पित ‘भिआइपी स्वर्ग’ को खोजीमा भौँतारिनुभन्दा, र अप्सराको डान्स हेर्ने सपनामा वर्तमानलाई कष्टकर बनाउनुभन्दा, यहीँ पृथ्वीलाई नै अलिकति अपग्रेड गरौँ न!

स्वर्गको टिकट बुकिङ रद्द गरौँ र जीवित छँदै यो धर्तीलाई नै न्याय, समानता र प्रेमको ‘फाइभ-स्टार’ बनाउनेतिर लागौँ। आखिर, मानिसको महानता मरेपछि कुन लोकको कुन क्याटेगोरीको रुम पाइन्छ भन्ने कुरामा होइन, बाँचुन्जेल अरूको जीवनमा कतिवटा खुसीका फूल फुलाइयो भन्ने कुरामा भर पर्छ!